तुलसीपुर उद्योग बाणिज्य संघद्वारा घरभाडा मिनाह गर्न अनुरोध
शरद रेग्मी
तुलसीपुर, २२ वैशाख ।
तुलसीपुर उद्योग बाणिज्य संघले लामो लकडाउनका कारण व्यवसायीहरु मारमा परेको भन्दै घरमालिकहरुलाई लकडाउन अवधिभरको घर भाडा मिनाह गर्न अनुरोध गरेको छ । संघको आज बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले लकडाउनका कारण उद्योग धन्दा वन्द भएको भन्दै बैंक व्याज मिनाह र छुट पाउने व्यवस्था मिलाउन नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको महासचिब रुपबहादुर खत्रीले बताए ।
बैठकमा अति आवश्यक खाद्यान्नका पसलहरु मात्र संचालन गर्न र अनावश्यक रुपमा वजारमा भिडभाड नगर्न सम्पूर्ण ं उद्योगी व्यवसायीहरुलाई अपिल समेत गरेको छ ।
संघले जिल्लामा सरकारी र निजी स्वास्थ्य संस्था र अस्पतालको अवस्था सुधार गर्न र जिल्लामै विरामी रेफर गर्ने वातावरण तत्काल मिलाउन समेत सम्वन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । बैठकले दाङ भित्रने सबै नाकाहरु सिल गरेर स्वास्थ्यकर्मी सहितको सुरक्षा हेल्पडेक्स तत्काल स्थापना गर्न समेत सुझाव दिएको छ ।
साथै बैठकमा सदस्यहरुले जेष्ठ नागरिकहरुले वृद्धिभत्ता लिन आउदा वजारमा सामाजिक दुरी कायम नगरी एकै ठाउंमा भिडभाड वढेको भन्दै तत्काल आवश्यक व्यवस्थापन गरी समस्या समाधान गर्न स्थानीय सरकार प्रमुख , सुरक्षा प्रमुख र बैंक मेनेजरहरुको ध्यानाकर्षण गराएको छ । सम्वन्धीत वडा वाटै बृद्ध भत्ता वितरण गर्ने वातावरण श्रृजना गर्न समेत तुलसीपुर उद्योग वाणिज्य संघले उपमहानगरपालिका र गाउंपालिकाहरुलाई समेत अनुरोध गरेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल, सल्लाहकारहरु सुरेश हमाल, नारायण प्रसाद खनाल, प्रेस सल्लाहकार शरद रेग्मी वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे लगायतले दाङ जिल्लालाई सुरक्षीत र संक्रमण वाट जोगाउन सबैले आ–आफ्नो तर्फवाट सहयोग गर्नु पर्ने वताएका थिए ।