प्रतिष्ठानलाई ६८ लाख सहयोग
दाङ, २५ वैशाख ।
अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ )ले दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु उपकरण खरिदका लागि ६८ लाख २५ नगद सहयोग उपलब्ध गराएको छ । नेपालको स्वास्थ्य सेवाको विस्तार र विकासमा विभिन्न प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउँदै आएको एएनएमएफले प्रतिष्ठानमा सघन उपचार सेवा विस्तारका लागि सहयोग गरेको हो।
फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्रकुमार बस्नेतले बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई चेक हस्तारन्तरण गरेका थिए । मन्त्री ढकालले सो चेक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति डा. संगिता भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
सो रकमले प्रतिष्ठानले मेनिटर, भेन्टिलेटर, इजिसी मेशिन, आइसयुबेड र डिफिबिलेटर खरिदमा खर्चिने डा. बस्नेतले जानकारी दिए । त्यस अवसरमा उपकुलपति डा. भण्डारीले मध्यपश्चिम क्षेत्रकै प्रमुख स्वास्थ्य संस्था भएर पनि राप्तीमा सघन उपचार सेवा नहुँदा धेरै बिरामीले एम्बुलेन्समै ज्यान गुमाउनु परिरहेको भन्दै एएनएमएफको सहयोग महत्वपूर्ण हुने बताइन् ।