चौरजहारीमा वेपत्ता भएका तीन जनाको शव फेला , वडाध्यक्षसहित १२ पक्राउ

रुकुम पश्चिम, १२ जेठ ।
शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको लाश फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे ।

उनले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएका बताउँदै भने,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।” करिब चार किलोमिटरभन्दा बढीको दुरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मीला घर्तीले जानकारी दिईन् ।
भेरी नगरपालिकाबाट १९ जना युवा नवराजकी प्रेमिका १७ वर्षीय युवतीलाई भगाउन भनी गएका थिए । तीमध्ये १२ जना घाइते छन् । यो समाचार तयार पार्दासम्म जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् ।

जिल्ला अस्पतालमा राखिएको मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर