राप्ती गाउँपालिकाको ५५ करोड बढि बजेट पारित
तिर्थराज ज्ञवाली, मसुरीया, २८ देउखुरी, राप्ती गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भएको छ । गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकले गाउँपालिकाको ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गरेको छ । संघीय समानिकरण, संघीय शशर्त, संघीय समपूरक, प्रदेश शशर्त, प्रदेश विशेष, प्रदेश समपुरक,संघीय राजश्व बाँडफाड, प्रदेश राजश्व बाँडफाड, आन्तरिक स्रोत र गत बर्षको मौज्दात गरि यस आर्थिक वर्षको कुल बजेट पारित गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले संसोधित बजेट पारित गर्दै गत वर्षको चालु ७६.२१ तथा पुजिगत तर्फ ६१.५१ प्रतिशतको वित्तीय प्रगति रहेको जानकारी दिए। राप्ती गाउँपालिकाको वातावरण क्षेत्रमा कार्य गर्न सहजताको लागि राप्ती गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित गरेको छ ।
सभाले आर्थिक ऐन २०७७ मा संसोधन सहित कवाडि करको न्युनतम ठेक्का रु २ लाख कायम गर्दै मालपोत कर संकलन तथा असुलिमा बजार क्षेत्र र राजमार्गको क्षेत्रको न्युनतम जग्गा एक कट्ठा मानिदै आएकोमा कर संकलन गर्न उत्पन्न भएको समस्यालाई राजश्व परामर्श समिति मार्फत छलफल गराई टुङ्गाउने अधिकार प्रत्यायोजन गरेको छ ।
सभामा बजेट उपर उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, विधेयक माथि विधेयक समिति संयोजक जगत बहादुर थापा, र आर्थिक ऐनमा सभाका सचिव तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले प्रस्टपार्नु भएको थियो । गाउँपालिकाको छैठौ सभा तिन वटा बैठक सम्पन्न गर्दै समापन भएको छ ।